नोभेम्बर ११ को तयारीमा दराज – एकै दिन ११ लाख उत्पादन बेच्ने लक्ष्य, ११ जनालाई मोटरसाइकल |
काठमाडौं । चिनियाँ ई–कमर्श अलिबाबा समूहको लगानी रहेको दराजले नेपालमा नोभेम्बर ११ को तयारी सुरु गरेको छ । दराजले नोभेम्बर ११ अर्थात ११ः११ लाई वर्षकै ठूलो ‘बिक्री दिन’का रुपमा मनाउँदै आएको छ । अलिबाबाले हरेक वर्षको नोभेम्बर ११ (कात्तिक २५ गते) मा वर्षको बिक्री दिन मनाउँछ । सोहीअनुसार दराजले पनि नोभेम्बर ११ मा मनाइने बिक्री दिनको तयारी थालेको हो । उक्त दिन ११ लाख उत्पादन बेच्ने योजना दराजले अगाडी सारेको छ ।
उक्त उत्पादन बेचेर ५ करोड रुपैयाँसम्मको छुट दिने कम्पनीको योजना छ । बिक्री दिन योजनामा सामेल हुने भाग्यमानी ११ जना ग्राहकले मोटरसाइकल उपहार पाउने छन् । यो योजना २४ घन्टाका लागि मात्रै लागू हुने छ । नोभेम्बर ११ मा ११ जना सेलिब्रेटीहरु ल्याएर ११ः११ ग्राण्ड गाला लाइभ प्रत्यक्ष प्रशारण समेत गर्ने छ । कम्पनीका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले नोभेम्बर ११ मा अहिलेसम्मकै सबैभन्दा ठूलो बिक्री दिन आयोजना हुने बताए ।
विश्वकै सबैभन्दा ठूलो एक दिने बिक्री मेलामा सम्पूर्ण प्लेटफर्ममा सहभागी १२ हजारभन्दा बढीले बिक्री गर्नेछन् ।



