प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट आयो ː जनार्दन शर्मा |
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् ।
पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन । ‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो ।’ उनले भने ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्यो ।’
उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औंला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्यो । यस्तो खालको पार्टी बनाउनुपर्यो अब । ’ माओवादी केन्द्रको संगठन विभाग प्रमुख समेत रहनुभएका नेता शर्माले भने‘ अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताहरुको मूल्याङ्कन गरिन्छ ।’ संगठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔं टोलबाट, पार्टी बनाऔं सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उनले यसलाई देशभर अभियानको रुपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्षका साथ त्यसको लागि संगठनात्मक फर्मूला समेत तयार गरेको जानकारी दिए ।
अर्थमन्त्री समेत रहनुभएका नेता शर्माले अबदेखि पार्टी र जनसंगठनहरुका हरेक कमिटीहरु आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्य रुपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गरे ।
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योगहरु चलाउने, नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए ।
सरकारले शहीद परिवारलाई मासिक वृत्ति, दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका घाइतेहरुको निशुुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउदै, डिजिटल शिक्षालगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयन समेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।


