गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना कार्यक्रम सम्पन्न |
काठमाडौँ । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन हव रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक वनावट रहेकाले गाउँगाउँमा होमस्टेको उचित प्रवन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनु पर्ने आवश्यकता रहेको बताए । उनले होमस्टेलाई प्रवद्र्धन गर्न अन्तराष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नु पर्ने बताए ।
‘पर्यटन प्रवद्र्धनमा हाम्रा विध्यमान परम्परा, संस्कृति र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनु पर्ने आवश्यकता छ, पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोड दिनेपर्ने छ’ उनले भने ।
उनले प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चिनसंग ब्यापार अभिवृद्धि गर्न जोड दिए । जलश्रोत भण्डार रहेको यस प्रदेशमा जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत निर्यात गर्ने सरकारको योजनामा यस प्रदेशबाट थप टेवा मिल्ने उनको भनाई छ ।


