‘मेरो देश, मेरै उत्पादन’ अभियानको लोगो राष्ट्रपतिलाई हस्तान्तरण |
विराटनगर । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले सुरु गरेको ‘मेरो देश, मेरै उत्पादन’को निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र बुधबार संयुक्त रुपमा शीतल निवास पुगी राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।
स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने उदेश्यका साथ दुई संगठनले संयुक्त रुपमा कार्यक्रम गरिरहेका छन् । लोगो पनि संयुक्त रुपमा निर्माण गरिएको हो ।
स्वेदेशी उत्पादनको प्रर्वद्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगीक विकासमा टेवा पुर्याउदै वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मानिर्भर बनाउने उदेश्यले सञ्चालनमा ल्याएको मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयुक्त प्रतिनिधि मण्डलले हस्तान्तरण गरेको हो ।
निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र बुझ्द राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि सञ्चालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहेको बताईन ।
राष्ट्रपति भण्डारीले अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा सञ्चालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटि देशव्यापीरुपमा यस अभियानलाई सार्थक तुल्याउनु पर्ने सुझाव दिईन ।
लोगो हस्तान्तरण कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष पवन शारडा, संगठनका पूर्व अध्यक्ष किशोर प्रधान, संघका पूर्व अध्यक्ष महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो ।


