पर्यटन बोर्डका सिइओ र डब्ल्युएचओ नेपाल प्रतिनिधिबीच भेटवार्ता | नेपाललाई सहयोग गर्न डब्ल्युएचओ तयार
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपाल प्रतिनिध डा. राजेश एस.पाण्डव बीच मंगलवार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटकाक्रममा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, सोपको अवस्था र पछिल्लो पर्यटनको अवस्था र डब्ल्युएचओको सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा डा. राजेश एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नु पर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नु पर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अझै कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधी सञ्चालन गर्न आवश्यक छ । ’ उहाँले भन्नु भयो । यस्तै डा. पाण्डवले पर्यटकीय गतिविधी बढि हुने क्षेत्रमा आकस्मिक एन्टिजेट परिक्षण,स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि विश्व स्वास्थ्य संगठनको सहयोग रहने बताए ।
सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा पनि क्रमशःː खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लो पटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजिकरण गर्न सरकार र पर्यन बोर्ड सदा तयार रहेको बताए । यस्तै कार्यकारी प्रमुख डा. रेग्मीले विश्व स्वास्थय संगठनले शिफारिश र स्वीकृती गरेका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशले मान्यता नदिएजस्तो व्यहार गरकोले यसबाट अन्तरराष्टिय आवागमनमा समस्या आएको बताउँदै यसमा विश्व स्वास्थ्य संगठनले ध्यान दिन आग्रह गरे ।


