अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्षसम्म आइपीओमा जाने |
काठमाडाैं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादित अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
आफनो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।
कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले हालसम्म ३३ ग्रेड र सो सहरको मान्यता पाइरहेको उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने बताए ।
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । अर्घाखाँची सिमेन्टले क्लिङ्कर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको छ ।


