पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी मेला ‘भर्चुअल’ माध्यमबाट सुरु |
काठमाडौं । महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला 'भर्चुअल' माध्यमबाट सुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
'भर्चुअल' माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताए। उनले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताए । मुलुकको समग्र विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने र त्यसका निम्ति सरकार तयार रहेको उनले उल्लेख गरे।
‘तपाईं हामी सबैको सहकार्यमा अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्छ। सरकारले तपाइहरुको समस्या सुन्नेछ। सरकारले निजी क्षेत्रको सहकार्यमा कोरोनापछिको अर्थतन्त्रलाई पुनर्उत्थान गर्नेछ। मुलुकको समग्र विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नैपर्छ। सरकारले उद्यमीहरुलाई सहयोग गर्न तत्पर छ,' प्रधानमन्त्री देउवाले भने।
महासंघकी प्रथम उपाध्यक्ष निरु रायमाझी खत्रीले महासंघले विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भए पनि यस वर्ष कोरोना संक्रमणको महामारीका कारण 'भर्चुअल' माध्यमबाट गर्नुपरेको बताइन्।
मेला आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, एफसिए, द एसिया फाउन्डेसन, अन्तर्राष्ट्रिय श्रम संगठन, युकेएड, भिजा फाउन्डेसन, वोमेन्स बैंक आदि संस्थाहरूले सहयोग गरेका छन् यस मेलामा डल्फा सोलुसन्सको प्राविधिक सहयोग रहेको छ भने मेलालाई नेसनल लाइफ इन्सुरेन्स, ज्योति विकास बैंक, सानिमा बैंक, नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट, श्रीनगर एग्रो, ग्लोबल आइएमई बैंक, लक्ष्मी इन्टरकन्टिनेन्टल, सिटिजन बैंक, निम्बस, पशुपति खाद्य उद्योग र नेपालका लागि बंगलादेशी राजदूतावासले प्रायोजन गरेका छन्।
पाँच दिनसम्म चल्ने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका स्टल छन्। मेलामा ८० स्टल छन् ।तीमध्ये ५७ महिला उद्यमीका स्टल र ३० जिल्ला महिला उद्यमी संघहरूको प्रतिनिधित्व गर्ने स्टल छन्। सधै झैं दुईवटा स्टल अग्निपीडित र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीलाई सीप प्रदान गर्ने संस्थालाई प्रायोजन गरिएको छ। एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर मेला अवलोकन गर्न सकिनेछ। मेला भदौ २१ गतेसम्म चल्ने महासंघले जनाएको छ।


