ललितपुरमा रोलिङ बजारको पहिलो आउटलेट, नेपाली उत्पादनलाई प्रबर्द्धन गर्ने |
काठमाडौं । नेपाली उत्पादनको प्रबर्द्धन गर्ने लक्ष्यसहित स्थापना भएको रोलिङ बजारले ललितपुरको कुपण्डोलमा पहिलो आउटलेट खोलेको छ । आउटलेटमा तरकारी, लोकल फलफुल, लोकल चामल, दाल, मसला, तेल, मकैको च्याक्ला, सातु पाइने बजारले बताएको छ ।
यस्तै, आउटलेटमा घरेलु महिला, अपाङ्ग र स्वदेश फिर्ती उद्यमीहरुले बनाएको कला र शिल्प का बस्तुहरु र अन्य स्वदेशी कपडा समेत पाइने बताइएको छ । कम्पनीका अध्यक्ष अनुप जंगमले घरेलु उद्यमी र उत्पादनको प्रबद्र्धन र बजार व्यवस्थापन गर्ने लक्ष्यसहित रोलिङ बजार खुलेको बताए ।
उनले भने, ‘स्वदेशी उद्यमी र कृषकले उत्पादन गरेको स्वेदशकै वस्तु/उत्पादनको बिक्री तथा प्रबद्र्धन गर्नु नै हाम्रो मुख्य लक्ष्य हो ।’ यस्तै, बजारले स्थानीय उत्पादनलाई देशभर पुर्याउने र बजार प्रबद्र्धन गर्ने लक्ष्य समेत लिएको बताइएको छ ।
रोलिङ बजारमा देशका विभिन्न स्थानमा उत्पादित चामल, मार्सी चामल, जुम्लाको स्याउ, हेटौडाको तोरीको तेल, रुधिलो मह, जुम्ला को सिमि/दाल लगायतका सामान पाइन्छन् ।
सेवाग्राहीले रोलिङ बजारको वेभसाइटमा गएर अनलाइनमार्फत समेत आफुलाई आवश्यक पर्ने सामाग्रीको अर्डर गर्न सक्नेछन् । कम्पनीले अनलाईन र आउटलेटमार्फत दैनिक १ लाख रुपैयाँको व्यापार गरिरहेको अध्यक्ष जंगमले बताए ।



