मर्जरमा जाने लघुवित्तले काठमाडौंमा कर्पोरेट कार्यालय र २ वटा शाखा खोल्न पाउने |
काठमाडौं । इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा लान तयारी गरिरहेको राष्ट्र बैंकले संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी आकर्षक कार्यक्रम ल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय समेत रहेको राष्ट्र बैंकले बुधबार लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो कार्यक्रम ल्याएको हो ।
संशोधित निर्देशनको नम्बर १३/०७७ को बुँदा नम्बर १ मा उप बुँदा (च) थप गर्दै बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्त गरेर १ अर्बभन्दा बढी चुक्ता पुँजी कायम गरेमा वा १ अर्बभन्दा बढी चुक्ता पुँजी भएका संस्थाले एउटा राष्ट्रिय स्तरको वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको छ ।
यस्तै, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त संस्थाको रुपमा कार्य गर्न समेत सक्ने बैंकले उल्लेख गरेको छ ।


