आगामी असारसम्म बैंक तथा वित्तीय संस्थाले सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सिसिडी रेसियो खारेज गर्दै सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई ‘कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले क्रमिक रुपमा घटाई २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ,’ भन्ने निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नु पर्ने सिडी रेसियो अधिकतम सीमा ९० प्रतिशत तोकिएको छ । ‘यस प्रयोजनको लागि पूँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ, ‘ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ । यो निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०७९ असार मसान्तसम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्नेछन् ।’


