डाटा साइन्सको पढाई शुरु गर्दै गणित विज्ञान स्कुल, डाटा एनलाइसिस विज्ञ नेपालमै उत्पादन हुने |
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतकाे गणित विज्ञान स्कुलमा डाटा साइन्सको पढाई शुरु हुने भएको छ । गणित विज्ञान स्कुलले नेपालमै पहिलो पटक भदौ महिना भित्रै डाटा साइन्सको पढाई शुरु गर्न लागेको हो ।
विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष पुरा गरेपछि डाटा एनलाइसिसको जनशक्ति नेपालमै उत्पादन हुने स्कुलको भनाई छ । जसले गर्दा सरकारी तथा नीजि, इन्स्योरेन्स कम्पनी लगायत शेयर बजारका डाटा एनलाइसिस गरी ट्रेन्ड पत्ता लगाउन सहज हुनेछ ।
स्कुलले साउन ३० गते डाटा साइन्सको प्रवेश परिक्षा सञ्चालन गरेको थियो । जसमा १४७ जनाले प्रबेश परिक्षाको लागि आवेदन दिएकोमा १३६ जना मात्रै लिखित परीक्षाको लागि योग्य भएका थिए । त्यसमध्ये पनि १२३ जना विद्यार्थीहरुले न्युनतम ३५ प्रतिशत प्राप्त गरी लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
लिखित परीक्षामा उत्तिर्ण भएका मध्येबाट पनि ४ जना अनुपस्थित भएपछि ११९ जना विद्यार्धीहरुको लिखित, प्रस्तुतिकरण तथा अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा प्राप्ताङलाई टुबुलेसन गरी योग्यता क्रम अनसार सूची निकालेको गणित विज्ञान स्कुलमा संयोजक केशबराज फुलराले जानकारी गराए ।
उनका अनुसार यो कोर्षमा ३६ जनाको सिट रहेको छ । त्यसमा ८० प्रतिशत खुला र २० प्रतिशत समावेशीको लागि कोटा छुट्याएको छ । समाबेशी कोटामा भर्ना हुनको लागि त्रिविको नियमानुसार योग्यता पुगेको हुनुपर्नेछ ।
भदौ १ देखि ८ गते सम्म खुला कोटा भर्ना र समाबेशी कोटाको आवेदन पेश गर्नुपर्नेछ । रीतपूर्वक आवेदन आए/नआएको जाँच गरी भदौ ८ गते बेलुकासम्ममा प्रवेश परीक्षा समन्वय समितिको बैठक बसी त्यस विषयमा टुंगो लाग्ने कार्यक्रम संयोजक फुलराको भनाई छ ।


