सानिमा बैंकको नाफा २८.१६ प्रतिशतले बढ्यो |
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा अधिकांश सूचकमा सुधार गरेको छ।
गत असार मसान्तसम्ममा बैंकले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९३ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी ३१.३७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८.४२ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ७० लाख रुपैयाँबाट घटेर २८ करोड ९८ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २९.१८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.७४ प्रतिशत र कर्जा ३०.९७ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३३ पैसा बढेर २३ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६० पैसा रहेको छ।


