मेगा बैंकको अधिकांश सूचकमा सुधार |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।
असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशत बढी हो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.९० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४६.३० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८० करोड ६४ लाख रुपैयाँबाट बढेर ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११.५४ प्रतिशत बढेको छ भने जगेडा कोष १५.९२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ।


