एभरेष्ट बैंकको वितरण योग्य मुनाफा २ अर्बभन्दा बढी |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र खुद नाफा दुबै घटेको छ।
असार मसान्तसम्ममा बैंकले १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३४ प्रतिशत कम हो।
बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.४० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २६.९६ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५४ करोड ८४ लाख रुपैयाँबाट घटेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको जगेडा कोष १६.०४ प्रतिशत बढेको छ भने निक्षेप ११.६२ प्रतिशत र कर्जा १३.७९ प्रतिशत बढेको छ।


