कमलादी र भेडेटारमा निर्माणाधीन ‘स्काइ वाक टावर’मा निफ्राले साढे ६७ करोड लगानी गर्ने |
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ निर्माण र सञ्चालन गर्न वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।
उक्त परियोजना निर्माण तथा सञ्चालन गर्ने सम्झौतापत्रमा निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) राम कृष्ण खतिवडा, नायबप्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे तथा परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेलले हस्ताक्षर गरेका छन् ।
वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित ‘स्काई वाक टावर’ ७८ मिटर उचाईको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुको लागि व्यवस्थासहितको पूर्वाधारहरु रहने छन् ।
मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने उक्त परियोजनाले आन्तरिक तथा बाह्यपर्यटक लाई उल्लेख्य मात्रामा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
यसैगरि धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको हो ।
प्रदेश नं १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ता बीच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको उक्त परियोजनाले देशको पुर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने छ ।
निफ्राले दुई ओटै परियोजनाहरु निर्माणका लागि ६७ करोड५० लाख रुपैयाँ बराबरको कर्जा सिमा स्वीकृत गरेको छ।

