मनकामना स्मार्ट लघुवित्तको नाफा ५८९.३१ प्रतिशतले बढ्यो |
काठमाडौं । सर्वसाधारणमा आइपीओ जारी गरेर हालै मात्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७६∕७७ को चौथो त्रैमाससम्ममा ४६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८९.३१ प्रतिशतले धेरै हो।
कम्पनीको नाफा बढ्नुमा राइट ब्याकको ठूलो टेवा देखिन्छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९१ करोड ८० लाख रुपैयाँ राइट ब्याक गरेको जसले खुद नाफा बढाउन सहयोग पुर्याएको हो।
कम्पनीको खुद ब्याज आम्दानी ११८ प्रतिशतले बढेर ८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन घाटा झनै बढेको छ।
लघुवित्तको निक्षेप संकलन १२४ प्रतिशतले बढेर ३२ करोड ११ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १०० प्रतिशतले बढेर ९७ करोड ८ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ छ।
लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ।



