बीमा कम्पनीहरुले तत्काल हकप्रद बिक्री गर्न नपाइने |
काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद प्रस्ताव नगर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी वृद्धिको आन्तरिक तयारी गरिरहदा समितिले भने यस्तो निर्देशन दिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालु आर्थिक वर्षभित्र कुनै पनि बीमा कम्पनीलाई हकप्रद निष्काशन नगर्न निर्देशन दिएको मेरोलगानीलाई जानकारी गराए । ‘कुनै लिखित निर्देशन त दिएको छैन्, तर हामीले मौखिक रुपमा सबै बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद निष्काशन गर्ने प्रस्ताव नगर्न आग्रह गरेका छौं’ कार्यकारी निर्देशनक पौडेलले भने ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद निष्काशन गरेर पूँजी वृद्धि गराउने कुनै योजना नभएकोले हकप्रद निष्काशन तत्कालको लागि रोक लगाएको उनको भनाई छ ।
त्यस अनुसार चालु आर्थिक वर्ष भित्र कुनै पनि बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने छैनन् ।
शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भने आउने
यद्यपी यस अघिनै हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढेका कम्पनीहरुको भने हकप्रद आउनेछन् । प्रकृया अघि बढि सकेका शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले भने हकप्रद निष्काशन गर्न पाउने बीमा समितिले जनाएको छ ।
शिखर इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ५२ लख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ ।
यस्तै आईएमई जनरल इन्स्योरेन्सले पनि चुक्ता पूँजी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव वार्षिकसाधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले चुक्ता पूँजी एक अर्ब १५ करोड ५६ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले ४६ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३६० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।


