सिन्धुपाल्चोकमा बाढी : रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो |
काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो ।
गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन् ।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।
पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।


