काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित |
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८∕२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
तर, उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए ।
छलफलमा उपमेयरसहितका काँग्रेस निकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उनीहरुको सुझाव ग्रहण गर्ने बताउँदै सभा चलाएका थिए ।
‘कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गर्दिनँ,’ उनले भने ।
शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने भन्दै अनावश्यक रुपमा मिडियावाजी नगर्न पनि सुझाव दिएका थिए ।
उनले कांग्रेसले राखेका धेरै जसो सुझाव नीति–तथा कार्यक्रममा समावेश भैसकेको बताए । ‘केहीचाँहि सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुने सुझाव छन् । सम्भव हुने सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गर्नेछौं,’ उनले भने ।
शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट∕सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा लगायतका कार्यक्रम ल्याएका थिए ।


