देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै |
काठमाडौं । कोभिड–१९ संक्रमण क्रमशː घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् ।
संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमण ओरोला लाग्दा पनि यसअघि अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप भने यथावत नै रहेको थियो ।
जेठ २२ देखि २८ गतेसम्मको सात दिनको अवधि मूल्यांकन गर्दा आईसीयूमा सबैभन्दा बढी १४५१ जना संक्रमित उपचाररत देखिन्छ भने भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् । सो साताको अन्तिम दिन जेठ २८ गते आईसीयूमा ११८९ र ३६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
जेठ २९ गते आईसीयूमा १२०६ जना संक्रमित उपचाररत रहेकोमा असार ४ गते यो संख्या घटेर ८७२ मा आइपुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जेठ २९ गते भेन्टिलेटरमा ३७३ संक्रमित उपचाररत छँदा जेठ ४ गते २४६ जना मात्रै उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकलाई हेर्दा कोरोना संक्रमण केही प्रतिशत घटेको देखिन्छ । जेठ २२ गते झण्डै ३० प्रतिशत कोरोना संक्रमण रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको देखिन्छ । जेठ २९ गते २३ प्रतिशत संक्रमण दर रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ ।


