ब्यवसायीले उठाएका धेरै विषय बजेटमा समेटिए ː चन्द्र ढकाल |
काठमाडौं । अप्ठ्यारो परिस्थितिमा आएको बजेट समग्रमा सन्तोषजनक रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेटपछि प्रतिक्रिया दिंदै उनले निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको बताए ।
महामारीका बेला आएको बजेट भएका कारण यसले स्वास्थ्य क्षेत्र नै प्राथमिकतामा राख्नुपर्ने थियो त्यो राखेको ढकालले बताए । ‘सरसर्ती हेर्दा राम्रै छ, अझ हामी राम्रोसँग हेरेर संस्थागत धारणा पनि रार्वजनिक गर्नेछौं,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रको रुपमा व्याख्या गर्यो यो एकदमै राम्रो छ, आन्तरिक पर्यटनलाई सकारात्मक बनाउने केही व्यवस्थाहरु गरिएका छन् यो राम्रो कुरा हो ।’
नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई एक महिनाका लागि भिसा फ्रि दिने बजेटमा उल्लेख गरिएको छ । रकम ठूलो नभए पनि यसले राम्रो सन्देश बाहिर जाने उनले बताए । कर्मचारीलाई १० दिने भ्रमण बिदा, स्टार्टअपका लागि बिउ पूँजी दिने व्यवस्था, संरक्षित क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लगायतका विषयवस्तुहरु राम्रो भएको उनको भनाइ छ ।
‘निजी क्षेत्रले माग गर्दै आएको खनिजजन्य पदार्थहरुको वातावरणीय प्रभावलाई ध्यान दिंदै निर्यात गर्नुपर्छ भनेका थियौं, त्यो सम्बोधन भएको छ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘समग्रमा बजेट एकदम व्यापक छ, कार्यान्वयन पनि राम्रो हुनुपर्यो, ।’


