प्रहरीको रासन भत्ता ५ वर्षपछि बढ्यो |
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृहसमक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने बताउँदै आएको थियो ।
गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले मूल्यवृद्धि ३३ प्रतिशतले बढेको भन्दै भत्ता बढाउन सिफारिस गरेको थियो । त्यसअघि सह–सचिव चक्रबहादुर बुढाको नेतृत्वमा गठित समितिले हरेक दुई वर्षमा रासन भत्ता वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।


