राष्ट्र बैंकको निष्कर्ष-सिमेन्ट उद्योगमा थप लगानी भित्र्याउनु आवश्यक | मागको ८३ प्रतिशत सिमेन्ट मात्र स्वदेशी उद्योगबाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । सिमेन्ट उद्योग सम्बन्धी एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले सिमेन्टमा आत्मनिर्भर बन्नका लागि थप सिमेन्ट उद्योगहरु खोल्नु पर्ने आवश्यकता देखाएको हो ।
‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुनेदेखिन्छ’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ ।
सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको राष्ट्र बैंकले बताएको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको र मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको भन्दै स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिएको राष्ट्र बैंकले बताएको छ ।
चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याउन समेत राष्ट्र बैंकको सुझाव छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिन्छ ।’
नेपालमा सञ्चालित सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता वार्षिक १ करोड ५० लाख टन रहे पनि हाल ७४ लाख ९० हजार टन मात्र उत्पादन हुँदै आएको प्रतिवेदनमा उल्लेख छ । यो नेपालको कुल मागको करिब ८३ प्रतिशत मात्र हो । हाल आन्तरिक बजारमा सिमेन्टको वार्षिक माग ९० लाख ५० हजार टन रहेको प्रतिवेदनले औंल्याएको छ । अपुग करिब १७ प्रतिशत सिमेन्ट बाहिरबाट आयात हुने गरेको छ ।
अध्ययनअनुसार मुलुकभर ५५ सिमेन्ट उद्योग सञ्चालनमा छन् । यसमध्ये ३ वटा उद्योग प्रत्यक्ष विदेशी लगानी (एफडीआई), २ वटा सरकारी स्वामित्व र ५० निजी स्वामित्वमा सञ्चालित छन् । लगानी र उत्पादन क्षमताका आधारमा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्य छ । तर उत्पादन क्षमता उपयोगका हिसाबले भने निजी र सरकारी स्वामित्वका उद्योग अघि रहेको अध्ययनले देखाएको छ । ‘प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सरकारी उद्योगको क्षमता उपयोग ५०.१२ प्रतिशत र निजी स्वामित्वका उद्योगको ६३.७८ प्रतिशत छ ।’
क्षमता उपयोगका हिसाबले सरकारी र निजी क्षेत्रबाट सञ्चालित उद्योग अघि देखिए पनि विदेशी लगानीमा सञ्चालित उद्योगको नाफा आर्जन राम्रो रहेको प्रतिवेदनले देखाएको छ । ‘विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ,’ प्रतिवेदनमा उल्लेख छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गएको छ । स्थापित उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सके सिमेन्ट आयातमा थप कटौती आउने अध्ययनको निष्कर्ष छ ।



