लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस | ‘मानवीय क्षतिबारे जानकारी आइसकेको छैन’
काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका र फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।
भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।




