अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई ५० करोडसम्म पुनरकर्जा, आधार दरमै ऋण |
काठमाडौं । लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दर(बेस रेट) मै ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्दै लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै ऋण उपलब्ध गराउने जनाएको हो । पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्थाको आधार दर घटेको छ ।
‘नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ,’ समीक्षामा भनिएको छ ।
साथै, सञ्चालनमा रहेका स्वास्थ सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापनाका लागि २० करोडसम्मको कर्जालाई एक बर्षको विशेष पुनरकर्जा उपलब्ध गराउने जनाएको छ । पुनर्कर्जाको ब्याज दर १% छ ।




