आजै राति केपी ओली प्रधानमन्त्री नियुक्त हुने, ओली र नेपालबीच कार्यदल बनाउने सहमति |
काठमाडौं । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनː प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एक घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततː उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।
माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।
विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।
यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस–माओवादीका नेताहरु तयार भएनन् ।
कार्यदल बनाउने सहमति
बिहीबार बूढानीलकण्ठमा झन्डै चार घण्टा भएको वार्तामा कार्यदल बनाएर अघि बढ्ने सहमति भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । “दुवै नेताबीच कार्यदल बनाएर अघि बढ्ने सहमति भएको छ,” ज्ञवालील भने, “कार्यदलमा को को रहने भन्ने थप छलफलपछि टुंगो लाग्नेछ ।”
दुवै नेताबीच सहमति बनेसँगै नेपाल समूहका सांसदले तत्काल राजीनामा नदिने भएका छन्। नेपाल समूहका सांसदले सहमतिका लागि अपराह्न ४ बजेसम्मको समय दिएका थिए । सहमति नभए त्यसपछि राजीनामा दिने बताउँदै आएका थिए ।
वार्तास्थलबाट बाहिरिँदै गर्दा नेपालले राजीनामा तत्काललाई टरेको बताए। उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “राजीनामा दुई–चार दिनलाई ट¥यो ।”
नेपाल समूहले एमालेलाई नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुनुअघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको थियो । आज दुई नेताबीच नेपाल पक्षले राखेका ६ बुँदामा छलफल भएको जनाइएको छ ।


