मुख्यमन्त्री पोखरेलले लिए शपथ, बिरोध गर्दै धर्ना बसेका सांसदहरुमाथि प्रहरीले गर्यो बल प्रयोग |
बुटवल । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए ।
हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनː मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेश गरेका थिए ।
तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेश गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र शपथ गराइएको प्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।
प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई कानुन बिपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बिपक्षी सांसदहरुले प्रदेश प्रमु्ख कार्यालयमा दिउँसैदेखि धर्ना दिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउन समस्या हुने देखेपछि प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यालयमै गएर पोखरेललाई सपथ गराएका थिए ।
प्रदेश प्रमुख सपथ गराउन बाहिरिने क्रममा प्रदेश कार्यालयमा धर्ना बसेका सांसदहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
उनीहरुले मुख्यमन्त्रीको शपथ नगराउन प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए पनि कडा सुरक्षा प्रबन्ध गरी पोखरेललाई शपथ गराइएको हो ।


