उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, निजी र सार्वजनिक यातायात पनि बन्द |
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।
एक जना प्रमुख जिल्ला अधिकारीले भने, ‘औपचारिक रूपमा निर्णय बाहिर आइसकेको छैन, १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो,’ उनले भने, ‘स्थानीय प्रशासन ऐन २०२८ अनुसार यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ, केही समयपछि हामी निर्णय सार्वजनिक गर्छौं।’
उनका अनुसार निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइन्छ ।
‘लकडाउन भनेको सबै बन्द भन्ने हो,’ उनले भने, ‘निषेधाज्ञामा चाहिँ के खोल्ने के नखोल्ने भन्ने निर्णय गरिन्छ।’
उनका अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ ।
एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन् ।
अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ । खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ ।
‘होटल∕रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्,’ ती सिडिओले भने । सरकारी कार्यालय खुल्नेछन् । बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ ।
यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ । हवाई सेवा सुचारू हुनेछ ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो ।



