पूर्वराजा ज्ञानेन्द्र दम्पति अस्पताल भर्ना, अवस्था स्थिर |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
पूर्वराजाका संवाद सचिव फणीन्द्र पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको जानकारी दिए । यस्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् । अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।
उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । ‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।’
केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।



