वैशाखभर शहरी क्षेत्रमा विद्यालय बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्ष | डान्सबार र दोहोरीसाँझ पूरै बन्द, रेष्टुरेन्ट राति १० बजेपछि
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।
सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड–१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालका अनुसार यो आदेशमा विद्यालय बन्द गर्ने शब्द छैन । ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने छलफल भएको छ’ उनले भने, ‘अब क्याबिनेटले आवश्यकता अनुसार निर्णय गर्छ ।’
सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । सीसीएमसीको बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो ।
त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गर्दा यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरिएको थियो । यी जिल्लाहरुमा विद्यालयमा समेत नजान भनिएको थियो ।
Visited 1 times, 1 visit(s) today


