कोरोना कहर ː एकैदिन ८ जनाको मृत्यु, ५५९ संक्रमित थपिए |
काठमाडौं । सोमबार विहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भयो ।
मृतकमध्ये बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना भएका थिए । तिलोत्तमा–१, रुपन्देहीकी ७१ वर्षीया महिला भने २३ चैतमा अस्पताल भर्ना भएकी थिइन् । मृतक तीन जनामा एउटा समानता छ, ज्वरो, निमोनिया, दम र स्वास प्रश्वासको समस्या लिएर अस्पताल आएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा मृत्यु भएर सोमबार रिपोर्ट भएका थप पाँच जना पनि जोड्दा मृतकको संख्यामा एकैदिन १३ थप भएको छ ।
सोमबार नयाँ संक्रमितको संख्या पनि ५०० नाघेको छ । मन्त्रालयका अनुसार ५१०५ नमुनाको पीसीआर टेष्ट गर्दा ४९६ जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने ८ नाकामा ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । सबभन्दा धरै कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा ५४ जनाको एन्टिजेन टेष्टमा पोजेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्ला केही दिनमा संक्रमितको संख्या उकालो लागेको देखाएको छ । ५ पुसमा संसद विघटन भएपछि पक्ष र विपक्षमा राजनीतिक दलहरुले सभा सम्मेलन गरे, हजारौं मानिसहरु जम्मा गरेर भाषण गरे । नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडे । अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा पनि निगरानी नभएका कारण नयाँ भेरियन्टले पनि नेपालमा प्रवेश पायो ।
जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगर्ने हो भने संक्रमण अझ् बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन सिफारिस गरेको छ । तर न राजनीतिक दलहरुले सभा समारोह गर्न छाडेका छन्, न जनस्वास्थ्य मापदण्ड पालना प्रभावकारी रुपमा नै हुन सकेको छ ।


