माथिल्लो तामाकोसीको काम अन्तिम चरणमा, वैशाख दोश्रो हप्ताबाट पेनस्टक र सुरुङमा पानी हाल्ने तयारी |
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना कामहरु भइरहेको छ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको यो आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।
माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ६ वैशाख भित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोश्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरु तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।
मुख्य निर्माणअन्तर्गत बाँध∕इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्त रुपमा बाँकी रहेका निर्माण कार्यहरु शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गरेका छन् ।
बाँकी रहेका कामहरु आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६∕६ वटा टर्वाइन र जेनेरेटरहरुको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत उत्पादन सुरु हुने शाक्यले जानकारी दिए ।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्यो, त्यसबाट तंग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुसीको विषय हो’,उनले भने ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।
आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।
यही पूर्वाधारलाई प्रयोग गरी तामाकोसी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसी बाहेक सानाठुला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत आयोजनाहरु अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।


