काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण, खुलास्थानमा नबस्न सरकारको अपिल | वायु प्रदूषण अझै लम्बिने सम्भावना
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यका एम्कासि तुवाँलोले ढाक्यो । समस्या यहाँसम्म देखा पर्यो की जसको कारण दिउँसो २ बजेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाहवाइ उडानसमेत बन्द गर्नु पर्यो । यो सबै धुँवा र धुलोका कारण सिर्जित प्रदूषणको परिणाम हो । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।
वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदूषण कम हुनसक्छ ।’
काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।
यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्यौें भने यसबाट बच्न सक्छौं’ उनले भने ।
खुलास्थानमा नबस्न सरकारको अपिल
सरकारले काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले घरबाहिर खुल्ला स्थानमा नबस्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो । मन्त्रालयले हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई रोकथाम गर्न ५ बुँदे अपिल गरेको हो ।
भारतका १५ सहर विश्वका सबैभन्दा प्रदुषित बिस सहरमा
त्यसो त छिमेकी मुलुक भारतका १५ सहर विश्वका सबैभन्दा प्रदुषित बिस सहरमा परेका छन् । सन् २०२० मा लामो समय लकडाउन भएका कारण विश्वभर प्रदुषण कम हुँदा पनि भारतका धेरै सहरहरु भने मानव जिवनकै लागि जोखिमपुर्ण हावा युक्त सहरकारुपमा रहेको एक रिपोर्टमा देखिएको हो ।
विश्व स्वास्थ्य संगठनले हहरेक वर्ष ७० लाख भन्दा बढी मानिसहरुको प्रदुषित वायुका कारण मृत्यु हुने गरेको जनाएको छ । हावामा पीएम २.५ को मात्रा ३५.५ भन्दा बढी हुने भएको अवस्थालाई नै संवेदनशिल व्यक्तिका लागि अस्वस्थकर मानिन्छ ।
त्यसमाथी ५५.५ भन्दा बढी पीएम २.५ भएको बायुलाई मानविय स्वास्थ्यका लागि पुर्णतया अहितकर भनेर विश्व स्वास्थ्य संगठनले जनाएको छ । जबकी भारतमा यस्ता १५ वटा सहर रहेका छन् ।
पृथ्वीका सर्वाधिक प्रदुषित शहरहरुको सूचीको पहिलो नम्बरमा भने चीनको होतान सहर रहेको छ । जसमा पीएम २.५ को मात्रा ११०.२ रहेको जनाइएको छ । भारतको गाजियावद, बुलन्द सहर, विश्रक, भिवादी, नोयडा, ग्रटर नोयडा, कानपुर, लखनउ यसपछि क्रमशः दोस्रो तेस्रो, चौथो, पाँचौं, छटौँ, सातौँ, आठौँ, नवौँ नम्बरमा रहेका छन् ।
भारतको राजधानि दिल्ली विश्वको १० औँ प्रदुषित सहरमा परेको छ भने ११ औँ, १२ औँ, १३ औँ र १४ औँमा पनि क्रमशː भारतकै फरिदावाद, मेरुत, जिन्द र हिसार परेका छन् । सो सूचीको १५ औँ नम्बरमा चीनको कश्गर छ भने १६ औँ मा बंगालदेशको मानिकगन्ज परेको छ ।
भारतकै प्रसिद्ध पर्यटकिय सहर आग्रा सो सूचीको १७ औँ नम्बरमा छ भने पाकिस्तानी सहर लाहोर र भागवलपुर १८ औँ र १९ औँ नम्बरमा परेका छन् । भारतकै मुजफरनगर सो सूचीको २० औँ नम्बरमा रहेको छ ।



