महासंघ र विभागबीच उद्योगहरूको अध्ययन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभाग बीच उद्योगहरु अध्ययन गर्ने समझदारी हस्ताक्षर भएको छ । नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो ।
समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहका बीच काठमाडौंमा हस्ताक्षर गरेका छन् ।
उद्योग व्यवसायको निरन्तर संचालन मार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट गरे।
उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गरे। महानिर्देशक भुषालले उद्योग विस्तार गर्न कहाँ समस्या छन् त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमती महत्वपूर्ण पहल हुने बताए ।


