नेपाल वायुसेवा निगमले गर्यो लम्बिनी विश्वविद्यालयसँग सम्झौता |
काठमाडौं ।
र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच आज नेपालको पर्यटन प्रवर्धन र बुद्ध दर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो ।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र विश्व विद्यालयका उप–कुलपति प्रा.डा. हृदय रत्न बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिने निगमले जनाएको छ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रहरुमा पर्यटन विकासमा दुवै संस्थाले प्रवर्धनात्मक कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएको छ ।
नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ । पर्यटन र बुद्ध दर्शनसँग सम्वन्धित विशेष कार्यक्रम बनाउन र त्यसलाई कार्यान्वयन गर्ने बारे पारस्परिक समझदारी र सहयोगको आधारमा हुनेछ ।
उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारी पत्रमा उल्लेख छ ।
लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटनसँग सम्वन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्व विद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिने निगमले जनाएको छ ।
लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइने पनि निगमले जनाएको छ । निगमले यो सम्झौता हाललाई चारवर्षको लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिने बताएको छ ।
समारोहमा बोल्दै महाप्रवन्धक पौडेलले नेपाल वायुसेवा निगमले बुद्धिष्ठ बाहुल्य भएका मुलुकहरुमा उडान संचालन गर्ने अवधारणा राखेको बताए । प्रा.डा. बज्राचार्यले बुद्ध धर्म मात्र नभएर यसले दर्शनको महत्व बोकेको कारण विश्व विद्यालयले त्यसैअनुसार कार्यक्रम संचालन गरेको धारणा व्यक्त गरे ।




