भालुबाङमा आधुनिक राजधानी विकास गरिने छ ː प्रधानमन्त्री ओली |
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइने बताएका छन् । उनले कोरोना नियन्त्रणका लागि सरकार लागिपरेको र सङ्क्रमण नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी, विमानस्थल र शववाहनमा काम गर्ने सबैलाई खोप लगाइने जानकारी दिँदै पहिलो चरणमा चार लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाइने दृढता व्यक्त गरे ।
उनले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट पारे ।
सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उनले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै भने, “गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।” उनले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताए ।
उनले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न, अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताए ।
राप्ती करिडरको विकास गरिने
दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताउँदै सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्नति गरेर राप्ती करीडोरका रपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने जानकारी दिए ।
सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले जनतामा जानु भनेको लोकतन्त्र बलियो हुनु हो भन्दै जनताका बीचमा जान नचाहनेहरु कायर भएको आरोप लगाए । पार्टीका जिल्ला संयोजक हुकुम बुढाथोकीका अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानाको विकल्प नरहेको बताए । सभाअघि जिल्लाका विभिन्न क्षेत्रबाट जनसमुदायले विभिन्न झांँकीसहित जुलुस प्रदर्शन गरेका थिए ।


