नक्कली भ्याट बिल प्रयोग गरी १ अर्ब ३४ करोड राजस्व छली |
काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गर्ने दुइवटा कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सयपत्री इन्टरप्राइजेज र संकित जेनेर सप्लायर्सविरुद्ध मुद्दा दायर भएको हो । ती फर्मका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तबाट १ अर्व ३४ करोड ९५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
बारा जिल्ला सिमरा पिपरा वडा नं.१ वस्ने न्यू सयपत्री ईन्टरप्राईजेज (स्थायी लेखानम्बर ६०२२९८६३८०) का प्रोप्राईटर विवेक मगर समेत १३ वटा फर्मका संचालक, प्रोप्रईटरहरु तथा मुख्य कारोवारी मनिष कुमार समेत १५ जनाबाट एक अर्व २२ करोड २० लाख १९ हजार १९ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय माग गर्दै यही पुष २२ मा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।
सयपत्री ईन्टरप्राईजेज लगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आर्थिक वर्ष २०७१∕०७२ देखि २०७३∕०७४ सम्ममा मू.अ.कर तथा आयकर राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
मु.अ.कर तर्फ ३७ करोड ३६ लाख ५३ हजार १ सय ७३ रुपैयाँ आयकर तर्फ ८४ करोड २९ लाख ८ हजार ७ सय ६९ रुपैयाँ र लाभांश कर तर्फ ५४ लाख ४७ हजार ७७ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
यता संकित जेनेरल सप्लायर्स प्रा.लि.ले पनि नक्कली भ्याट विल प्रयोग गरी राजस्व छली गरेको छ ।
सर्लाही जिल्ला बलरा गाउँपालिका वडा नं.२ वस्ने संकित जेनेरल सप्लायर्स प्रा.लि (स्थायी लेखा नं. ६०११७६५७९) का संचालक सुवोध साहले १२ करोड ७५ लाख ५१ हजार ६ सय १४ रुपैयाँ विगो असुल गरी जरिवाना तथा सजायको माग गर्दै पाटन अदालतमा मुद्धा दायर गरिएको हो ।
संचालक साहले लकुनै बस्तु तथा सेवा खरिद तथा आयात नगरी विभिन्न फर्महरुलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई जालसाजी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छलि गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले भनेको छ ।
Visited 1 times, 1 visit(s) today


