माघ ७ देखि तातोपानी नाका २० दिन बन्द हुने |
काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
पुल मर्मतकालागि नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको भन्सारले जनाएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअड्कियोस भनेर मा छिटो–छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।
साउन देखि मंसिरसम्म १७ करोड राजश्व संकलन भएकोमा पुस महिनाको तीन सातामा १८ करोड राजश्व संकलन भएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।
कोभिड र बाढीका कारण चीनतर्फका महत्वपूर्ण व्यापारिक नाकाहरु लामो समयदेखि अवरुद्ध हुँदै आएका छन् । नाकामा भएको अवरोधले दुई देशबीचको व्यापार अवरुद्ध भएको भन्दै नेपाली व्यवसायी भने चिन्तित छन् ।


