विद्युत प्राधिरकणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग माग्यो निːशुल्क फ्रिक्वेन्सी |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निːशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिने स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो ।स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो ।
फ्रिक्वेन्सी लिनेबारे सञ्चार मन्त्रालयसँग छलफल अघि बढाइएको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए । उनका सरकारले तोक्ने दरमा शुल्क तिरेर फ्रिक्वेन्सी लिँदा ग्राहकलाई विद्युत शुल्क बढाउनुपर्ने भएकाले निःशुल्क फ्रिक्वेन्सी पाउनुको विकल्प नरहेको बताए ।
यसअघि निर्देशनालयले शुल्कबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग्दा करिब ९८ हजार स्मार्ट मिटरमा सो फ्रिक्वेन्सी प्रयोग गर्दा वर्षमा करिब १ अर्ब ९७ करोड शुल्क लाग्ने जानकारी पाएको थियो । डिभाइसको संख्या अनुसार फ्रिक्वेन्सी दस्तुर लाग्ने जानकारी आएको मिटरको संख्या बढ्दै गएर शुल्क पनि बढ्दै जाने सिलवालले बताए ।
‘प्राधिकरणले त्यस्तो शुल्क तिर्नुपर्योा भने ग्राहकले बिजुलीको महंगो शुल्क तिर्नुपर्ने हुन्छ,’ सिलवालले भने,’त्यसैले हामीलाई विश्वास छ, मन्त्रिपरिषदबाटै निर्णय गरेर स्मार्ट मिटरका लागि आवश्यक फ्रिक्वेन्सी दिइनेछ ।’
प्राधिकरणले गत साउन २५ गतेबाट काठमाडौंका सीमति क्षेत्रमा पुराना मिटर हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको थियो । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब ९८ हजार पुराना मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिँदैछ । अहिलेसम्म करिब २८ हजार मिटर प्रतिस्थान भएको छ । त्यसमध्ये करिब २५ हजार मिटर रिड गर्न अब मिटर रिडर जान छाडेका छन् ।


