राष्ट्रियसभा अधिवेशन आजदेखि |
काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बैठकमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको बुझिएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाइने बताइन् ।
यसैगरी राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्माले सरकारका कामकारवाहीलाई सहयोग पुर्याउने तथा जनताका समसामयिक आवाजलाई बुलन्द गर्ने विगतको अभ्यासकै रुपमा सदन अघि बढ्ने बताए ।
अध्यक्ष र उपाध्यक्षबाहेक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४४, नेपाली कांग्रेसका सात र जसपाका तीन सदस्य रहेको उक्त सभामा राष्ट्रपतिबाट मनोनीत तीन विषयविज्ञ सदस्य पनि छन् । प्रतिनिधिसभा नभएका बेला चल्न लागेको राष्ट्रियसभाले सदनमा उठेका जनताका आवाज सम्बोधनका लागि सरकारलाई निर्देशन दिन, ध्यानाकर्षण गराउन र रुलिङ गर्न सक्नेछ ।


