बैंकिङ क्षेत्रमा समावेशी सहभागिता : महत्त्वपूर्ण जिम्मेवारी महिलालाई सुम्पिँदै नबिल बैङ्क |
काठमाडौं । सन् १९९१ मा नबिल बैङ्कमा प्रवेश गर्नुअघि अन्तर्वार्ता दिन जाँदा नमिता दीक्षितलाई लागेको थियो, ‘म पनि यहाँ काम गर्न सक्छु होला र ?’ जागिरको लाइनमा निकै कममात्रै महिला देख्दा उनलाई त्यतिबेला अप्ठ्यारो महशुस भएको थियो । तर, त्यो समयमा पनि उनको क्षमता र योग्यतालाई नबिल बैङ्कले पत्यायो ।
करिब ३० वर्षदेखि नबिल बैङ्कमार्फत् बैंकिङ सेवा गर्दै आएकी दीक्षित अहिले बैङ्कको जोखिम व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा छिन् । नबिल बैङ्कमा प्रवेश गरेपछि उनलाई दायाँबायाँ सोच्नै परेन । नबिल बैङ्कभित्र आफुले गर्न पाएको बैंकिङ अभ्यास, वृत्ति विकासको अवसर र सेवा सुविधाको उत्कृष्टताका कारण सो बैङ्क अहिले बैंकिङ क्षेत्रको पहिलो आकर्षण बनेको दीक्षितको अनुभव छ । ३ दशकको सेवामा विभिन्न विभागीय जिम्मेवारी निर्वाह गरिसकेकी दीक्षितलाई आज पनि आफ्नो बैङ्क र कामलाई उत्तिकै माया र लगाव छ । भन्छिन्, ‘आई स्टिल प्राउड टु बी अ नबिलियन ।’
दीक्षितलाई सबैभन्दा खुसी चाहिँ बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिँदै गएको महिला सहभागितादेखि लाग्छ । बैंकिङ क्षेत्रको जागिर खुल्दा अन्तर्वार्ताको लाइनमा महिलाहरुको उल्लेख्य सहभागिता दिँदा उनलाई ३० वर्षअघि आफ्नो अन्तर्वार्ताका दिनहरुको याद आउँदो रहेछ । दीक्षित भन्छिन्, ‘अन्तवार्ता दिने लाइनमा महिलाको उल्लेख्य सहभागिता देख्दा म आफ्ना दिनहरु सम्झन्छु । आजको प्रगतिमा निकै आनन्द महशुस हुन्छ ।’
त्यस्तै, अनुभव सम्झना श्रेष्ठको पनि छ । उनी पनि सन् १९९१ मै नबिलमा प्रवेश गरेकी हुन् । नबिल परिवारमा प्रवेश गरेपछि उनलाई पनि अर्कोतिर जाने सोचाई कहिलै आएन । श्रेष्ठ भन्छिन्, ‘व्यवहारिक रुपमा पुरुषलाई भन्दा महिलालाई पक्कै पनि गाह्रो हुन्छ । पुरुषजत्तिकै सक्रिय रहन महिला सक्दैनन् । तर, नबिल बैङ्कभित्र त्यसको अनुभव नै हुँदैन । यो वातावरणको निर्माण गर्नसक्नु नै यो बैङ्कको विशेषता हो ।’
बैंकिङ क्षेत्रमा महिला सहभागिताको अवस्था
नेपालका २७ वाणिज्य बैङ्कहरुमा अहिले करिब ३८ हजार कर्मचारीहरु कार्यरत रहेको नेपाल बैङ्कर्स संघको तथ्यांक छ । त्यसमध्ये करिब १५ हजार महिला कर्मचारी छन् । यो करिब ४० प्रतिशत हो ।
पछिल्लो वर्षहरुमा बैंकिङ क्षेत्रमा महिला सहभागिताको क्रम निकै बढ्दै गएको छ । नयाँ नियुक्त हुने कर्मचारीमा आधाभन्दा बढी हिस्सा महिलाको छ । छोडेर जाने वा अवकाश पाउने कर्मचारीहरु महिलाभन्दा पुरुष बढी रहेकोले अबको केही वर्षमा यो क्षेत्रमा महिलाभन्दा पुरुषको संख्या बढी हुनसक्ने संघले जनाएको छ ।
बैङ्कमा महिला सहभागिता यसरी बढ्नुको केही कारणहरु छन् । पहिलो, अघिल्लो दशकदेखि नै विद्यालय भर्ना हुने विद्यार्थीमा महिला र पुरुषको संख्या उत्तिकै रहेको पाइएको छ । यसको सकारात्मक प्रभाव विद्यालय वा विश्वविद्यालय शिक्षासम्मै परेको छ । यतिबेला विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको संख्यामा पनि महिलाकै वर्चस्व देखिन थालेको छ । यसको प्रभाव स्वभाविक रुपमा श्रम बजारमा परेको छ । बैंकिङ क्षेत्र श्रम बजारको एउटा आकर्षक क्षेत्र पनि हो ।
दोस्रो महत्वपूर्ण कारण चाहिँ अर्को छ । बैंकिङ क्षेत्रलाई महिला र महिला कर्मचारीका लागि बैंकिङ क्षेत्र दुवै आकर्षणको विषय हो । बैंकिङ एकप्रकारले हस्पिटालिटी क्षेत्र नै भएकोले यो यो क्षेत्रको सेवामा पुरुष भन्दा महिला नै बढी प्रभावकारी हुने प्रमाणित भइसकेको नबिल बैङ्क रणनीतिक विभागकी म्यानेजर अञ्जुली श्रेष्ठ बताउँछिन् । श्रेष्ठ भन्छिन्, ‘महिलाहरुले विषयवस्तुलाई संवेदनशील ढंगले बुझ्छन् । ग्राहकका समस्यालाई आफ्नै समस्याको रुपमा ग्रहण गर्छन् र समाधानको पहल गर्छन् । यो महिलाहरुको प्राकृतिक स्वभाव हो । त्यसैले ग्राहक सेवामा महिला कर्मचारीहरु बढी प्रभावकारी हुन्छ भन्ने बुझिसकेका छन् ।’
महिलाहरुका लागि पनि बैंकिङ क्षेत्र प्रमुख आकर्षणको क्षेत्र हो । प्रायः कार्यालयभित्रै बसेर काम गरिने र धेरै शारीरिक परिश्रम गर्नु नपर्ने भएकोले यो क्षेत्रका कर्मचारीलाई ‘ह्वाइट कलर वर्कर’ पनि भनिन्छ । यस्तो प्रकृतिको काम गर्ने चाहना जोकोहीलाई हुन्छ । तर, महिलाहरुलाई भने यही प्रकारको काम निर्विकल्प जस्तै हुन्छ । त्यसैले पनि यो क्षेत्रमा महिलाको उच्च सहभागिता देखिएको हो ।
२४ वर्षदेखि नबिल बैङ्कमा कार्यरत रहँदै आएकी नबिल बैङ्ककी ट्रेजरी विभाग प्रमुख भिनिशा श्रेष्ठ महिलाहरुले पनि रोजगारी गर्नुपर्छ भन्ने चेतना विकास हुँदै जाँदा र समाजले पनि महिला रोजगारीलाई स्वभाविक रुपमा ग्रहण गर्दै जाँदा महिला सहभागिता उल्लेख्य रुपमा बढ्दै गएको अनुभव गर्छिन् ।
बैङ्कको पूर्वाधार तथा आयोजना ऋण विभागकी रिलेसनसिप म्यानेजर सरिना श्रेष्ठको अनुभवमा पछिल्लो समय महिला हरेक क्षेत्रमा प्रतिस्पर्धी बनेका कारण पछिल्लो समयको सहभागिता सम्भव भएको हो । ‘जिम्मेवारी पाउनु र जिम्मेवारी सम्हाल्नुमा आकाश जमिनको फरक छ । तर, महिलाहरुले पछिल्लो समय आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेका छन्, रिजल्ट पनि राम्रो आएको छ । यही पर्फमेन्सको कारण व्यवस्थापनलाई पनि महिलाले पनि काम गर्न सक्छन् भन्ने कन्फिडेन्स बढेको छ ।’
महिला सहभागितामा र वृत्ति विकासमा नबिल
नबिल बैङ्कका अहिले १ हजार १ सय २० कर्मचारी छन् । तीमध्ये ४ सय ७ जना महिला छन् । यो करिब ३६.३४ प्रतिशत हो । नबिलमा उच्च तहमा रहेर हाल २८ जना महिलाहरुले विभिन्न विभाग तथा शाखाहरु हाकिरहेका छन् । यो संख्या समग्र बैंकिङ क्षेत्रको भन्दा केही कम रहेको देखिँदा लाग्न सक्छ, महिला सहभागितामा नबिल बैङ्क पछाडि रहेछ ! तर वास्तविकता त्यसो नभएको बैङ्ककै महिला कर्मचारीहरु बताउँछन् ।
त्यसो त, नेपालको वाणिज्य बैङ्कमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत रहेकी अनुपमा खुञ्जेली पनि नबिल बैङ्ककै उत्पादन हुन् । त्यस्तै, क्लिन इनर्जी डेभलपमेन्ट बैङ्ककी तात्कालिन प्रमुख कार्यकारी अधिकृत वर्षा श्रेष्ठ पनि सुरुमा नबिल बैङ्कमै थिइन् । अहिले उनी इक्रा क्रेटिट रेटिङ एजेन्सीको प्रमुख कार्यकारी अधिकृत छिन् ।
‘हाम्रो बैङ्कले धेरै महिला बैङ्कर उत्पादन गरिसकेको छ । तपाइँले हेर्नुभयो भने अहिले विभिन्न बैङ्कको उच्च व्यवस्थापनमा रहेका अधिकांश महिलाहरु नबिल बैङ्ककै प्रोडक्ट हुन्,’ जोखिम व्यवस्थापन विभागकी प्रमुख दीक्षित भन्छिन्, ‘नबिलले आफ्ना लागि मात्रै बैङ्कर उत्पादन गरेको छैन । समग्र बैंकिङ क्षेत्रका लागि पनि योग्य बैङ्कर दिएको छ ।’
आफूलाई पनि कयौं बैङ्कले आकर्षक अफर गरेको स्मरण गर्दै दीक्षित भन्छिन्, ‘बाहिरबाट थुप्रै अवसर आएका थिए । मेरो प्राथमिकता माथिल्लो पद हात पार्नु भएको भए म पनि अन्तै जान सक्थेँ । तर, बैंकिङ संस्कार र सेवा सुविधाको हिसाबले अरु बैङ्कका अफरहरु मलाई फिक्का लाग्यो । त्यसैले त्यतातिर मैले सोच्दै सोचिनँ ।’
दीक्षितले आफ्नै समकक्षीहरुले अरु बैङ्कमा गएर कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको समेत देखिसकेकी छिन् । तर, त्यस्तो पदको मोह आफूलाई कहिलै नभएको उनले सुनाइन् । सेवाकालको उत्तराद्र्धमा रहेकी उनी भन्छिन्, ‘मैले बैङ्कका थुप्रै विभागको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छु । यो जिम्मेवारीमा रहँदा मैले जुन ज्ञान र सीप हासिल गरेँ, अर्को पुस्तालाई हस्तान्तरण गर्नु नै मेरो अबको उद्देश्य हो ।’
दीक्षित आफूलाई कमजोर नठान्न र क्षमता प्रदर्शन गर्न सधै अग्रसर हुन सबै महिलालाई आग्रह गर्छिन् । नेपालमा अहिले पनि पारिवारिक कारणले महिला अघि बढ्न नसकेको भन्दै यसमा थप सुधार हुनुपर्ने खाँचो उनी औंल्याउँछिन् । ‘अहिले बैंकिङ्गमा ४०/४५ प्रतिशत महिलाहरु प्रतिस्पर्धामा छन् । पारिवारिक कारणले कति महिला अगाडि बढ्न सकेका छैनन् । परिवारले छोरालाई जस्तै छोरीबुहारीलाई साथ दिने हो भने यो संख्या बढ्न समय लाग्दैन’ दीक्षित भन्छिन्, ‘महिला आफैंले पनि आफ्नो करियरमा ध्यान दिनुपर्छ । जापान र युरोपेली देशमा करियरमा ब्रेक लाग्ने चिन्ताले कति महिला विवाह नै नगरी र कति महिला बच्चा नजन्माई बसेका हुन्छन् । पारिवारिक जीवनका लागि व्यवसायिक जीवन अन्त्य हुने अवस्था आउन नदिन हाम्रो देशमा पनि महिलाहरुले आफ्नो जीवनको बारेमा राम्रो योजना बनाउनुपर्छ ।’
“युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने | बैंकिङ क्षेत्रमा समावेशी सहभागिता : महत्त्वपूर्ण जिम्मेवारी महिलालाई सुम्पिँदै नबिल बैङ्क |


