ग्लोबल आइएमई बैंकको पुस २९ गते एजीएम |
काठमाडौं । ग्लोबल आइएमई बैंकले पनि पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १४℅ बोनस सेयर र २℅ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । यस्तै, बैंकले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट पनि ३ जना नै गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन पनि गर्ने भएको छ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०७६∕७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । सभा बैंकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने बैंकले जानकारी गराएको छ । सभा प्रयोजनका लागि पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुनेछ । पुस १४ गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।



