एक महिनामा १२३ अर्बको वस्तु आयात |
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण खुम्चिएको बजार बिस्तारै गति लिने क्रममा रहेको छ । यसको संकेत वैदेशिक व्यापारले समेत गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन∕मंसिर)सम्म कुल ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यसमा मंसिर महिनामा उच्च आयात भएको देखिएको छ । यो महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । कात्तिक र मंसिर महिनामा आयातमा उच्च वृद्धि भएको छ ।
कात्तिक महिनामा समेत १ खर्ब १२ अर्ब रुपैयाँ हाराहारीको वस्तु आयात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयात पुरानै अवस्थामा फर्कने संकेत गरेपनि निर्यातमा भने उत्साहजनक वृद्धि छैन । पहिलो पाँच महिनामा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
त्यसो त समग्र आयात भने गत वर्षको यसै अवधिको तुलनामा ९.५९ प्रतिशतले कम भएको छ । तर, चालु आर्थिक वर्षका प्रारम्भिक महिनाको तुलनामा पछिल्ला महिनाहरु भने वैदेशिक व्यापारका दृष्टिकोणबाट सहज बन्दै गएको देखिएको छ ।
पछिल्लो ५ महिनाको तथ्यांकअनुसार निर्यातमा समेत अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५.१२ प्रतिशतको वृद्धि देखिएको छ ।
५ महिनामा समग्र वैदेशिक व्यापारको आकारमा भने गिरावट आएको छ । चालु आवमा कुल वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमो यस्तो रकम ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको थियो । समग्र वैदेशिक व्यापारमा ८.४८ प्रतिशतको गिरावट आएको तथ्यांक छ ।
नेपालको वैदेशिक व्यापारमा ९१.३० प्रतिशत हिस्सा आयातको रहेको छ । ८.७० प्रतिशत हिस्सा मात्र निर्यातको छ । यद्यपी अघिल्लो वर्षको यसै अवधिको तुलनामा निर्यातको हिस्सामा १४.८६ प्रतिशतको वृद्धि भने देखिएको छ ।
तर, रकममा निर्यातको वृद्धि अत्यन्तै कम रहेका कारण यसले व्यापार घाटा कम गर्न भने भूमिका खेल्न सकेको छैन ।
समग्र आयातमा आएको कमी र निर्यातको वृद्धिले व्यापार घाटामा सामान्य सुधार देखिएको छ । विभागको तथ्यांक अनुसार ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ ।
यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा १०.९१ प्रतिशतले कम हो । अघिल्लो वर्ष ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो ।
व्यापार घाटा कम गर्न बढ्दो निर्यातको तुलनामा घट्दो आयातको हिस्सा बढी देखिन्छ ।



