नियामक निकायले बजेट नै छुट्याएर पत्रकारलाई तालिम दिनुपर्छ ː अध्यक्ष चापागाईं |
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले पत्रकारको क्षमता अभिवृद्धिका साथै प्राविधिक शिक्षाका लागि बजेट नै छुट्याउनु पर्ने बताएका छन् । बुधबार राजधानीमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् ।
“पत्रकारमा सम्बन्धित क्षेत्रबारे राम्रो ज्ञान भएमा मात्र उक्त क्षेत्रको सकारात्मक र नकारात्मक दुबै पक्षको उजागर गर्न सक्छ । अनि मात्र सहित समाचार र खबदारी हुनसक्छ । यसका लागि पत्रकारमा सम्बन्धित क्षेत्रको प्राविधिक तथा वस्तुपरक ज्ञान हुन आवश्यक छ,’ अध्यक्ष चापागाईंले भने, ‘यसका लागि अब सबै नियामक निकायहरुले पत्रकारको तालिमका लागि बजेट नै छुट्याउनु पर्छ । यसो हुँदा पत्रकारको सीप, क्षमता विकास भई संस्था र मुलुककै लागि फाइदा पुग्छ’ उनले भने ।
सोही अबसरमा बोल्दै अध्यक्ष चापागाईंले पत्रकारहरुको क्षमता अविवृद्धिमा बीमा समितिले हरेक वर्ष बजेट नै छुट्याएर कार्यक्रम आयोजना गर्ने बताए । चालु आर्थिक वर्ष कोभिड–१९ का कारणले कार्यक्रमलाई निरन्तरता दिन नसकिपनि आगामी दिनमा यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने उनले प्रतिवद्धता जनाए ।
अध्यक्ष चापागाईंले नेपाल पत्रकार संघ (नाफिज) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए । चापागाईं ४ वर्षे कार्यकाल सकिएर केही दिनमा समितिबाट बिदा हुँदैछन् ।


