बैंकहरुले बढाउन थाले लगानी, एक सातामै २२ अर्ब कर्जा प्रवाह |
काठमाडौं । आर्थिक गतिविधि चलाएमान हुन थालेसँगै बैंकहरुले पनि कर्जा लगानी बढाउन थालेका छन् । पछिल्लो समय बैंकहरुले दैनिक ३ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गर्न थालेको नेपाल बैंकर्स एशोशियसनको तथ्याङ्कले देखाउँछ ।
गत एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेको छ । यो संगै पुस ३ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लो समय कर्जा लगानी सँगै निक्षेप संकलन पनि बढ्दै गएको छ। बैंकर्स संघको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा बैंकहरुको निक्षेप संकलन २३ अर्ब रुपैयाँले बढेको छ । यस अवधिमा बैंकहरुले कुल ३७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
पछिल्लो ४ सातामा बैंकहरुको कर्जा लगानी ७३ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी लगातार बढ्दै गएपछि बैंकहरुमा रहेको अधिक तरलता केही कम हुँदै जाने अपेक्षा गरिएको छ ।


