कोभिड–१९ विरुद्धको खोप आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात र जनतालाई उपलब्ध गराउने स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले खोप आयातमा सञ्चारमाध्यममा समाचार आए जस्तो कुनै पनि स्रोतको अभाव नहुने बताएका हुन् ।
खोप निर्माण गरिरहेका मुलुकसँग कुटनीतिक संवाद भइरहेको बताउँदै अर्थमन्त्री पौडेलले खोप सबै नेपालीलाई निःशुल्क गरिने पनि बताएका छन् ।
‘भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन’, उनले भने, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ ।’
बजारमा उपलब्ध हुने भ्याक्सिनहरुमा कम लागत पर्ने र गुणस्तरीय हुनुपर्ने सरकारले मापदण्ड बनाएको मन्त्री पौडेलले जानकारी दिए ।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराउने जानकारी दिए ।
यसैगरी सरकारले सबै नागरिकलाई भ्याक्सिन लगाउने तयारी गरे पनि १४ वर्ष मुनिका उमेर समूहलाई भने नलगाइने मन्त्री पौडेलले बताए ।




