बंगालदेशबाट ५० हजार मेट्रिकटन युरिया मल किन्ने सम्झौता, पुस तेस्रो साता नेपाल आइपुग्ने |
काठमाडौं । ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशी सरकारी कम्पनीबीच सम्झौता भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
युरिया बल्क र कार्गो गरी दुई तरिकाबाट तीन महिनाभित्र मल ल्याउन समझदारी भएको मन्त्रालयले जनाएको छ ।
बंगालदेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ ।
सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको टोलीले मल किन्ने सम्झौता गरेको थियो ।
मल ल्याउन ठेक्का पाइसकेको कम्पनीले आगामी साता एलसी (प्रतीतपत्र) खोल्ने र एलसी खोलेको दुई सातापछि मल नेपाल ल्याउन सुरु गर्ने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।
‘बंगलादेश गएको टोली शनिबार फर्केलगत्तै एलसीको प्रक्रिया थालिनेछ ढिलोमा पुस २१ सम्म छिटोमा १५ गतेसम्म मल आउन सुरु गर्छ,’ केसीले भने । ढुवानी सुरु भएको एक सातामा सबै मल नेपाल भित्रिने पनि उनले बताए ।
मल ल्याउन जेएन ट्रेड (यूएई)सँग ठेक्का सम्झौता भएको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउने कृषि सामाग्री कम्पनीले जनाएको छ । बंगालदेशबाट मल ल्याएपछि चैते धानदेखि मकैबालीसम्मका लागि अभाव नहुने कम्पनीले जनाएको छ ।
थप मल ल्याउन पनि ठेक्का लगाइसकेकाले आउँदो वर्ष नेपालमा मल अभाव नहुने कम्पनीको दाबी छ । बंगलादेशसँग सरकार–सरकारबीचको सम्झौता (जीटुजी) प्रक्रियाबाट मल खरिद गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच बिहीबार सम्झौता भएको थियो ।
प्रतिटन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको हो । जीटूजीमार्फत मल ल्याउन कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।
Visited 1 times, 1 visit(s) today


