श्रीलंकालाई विश्वकप जिताउने देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक |
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन् ।
क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो । जसमा वाटमोरसहित पूर्व प्रशिक्षक पुबुदु दसानायके, भारतका अपूर्व देसाइ लगायतले अन्तर्वार्ता दिएका थिए ।
श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ ।
उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो । उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे ।
वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने ।
सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी–२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो ।
त्यसपछि उनी भारत फर्किए । भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए । पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने ।
क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ ।
Visited 1 times, 1 visit(s) today


