उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा चलाइने |
काठमाडौं । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।
उनले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
‘किसानसँग जाहेरी लिई, पक्राउ पुर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारबाही अघि बढ्छ’, प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले भने, ‘उहाँले अहिलेसम्म पक्राउ भएको भन्ने जानकारी नआएको बताउनुभयो ।’
सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् ।
पटक∕पटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौं आएर आन्दोलन चलाइरहेका छन् ।
सोही विषयमा मंगलबार गृहमन्त्री रामबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहितको बैठक बसेको थियो ।
बैठकले उनीहरूलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढाएको हो ।
कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
नतिर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उनले बताए ।
गत वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्नेगरी सहमति भएको थियो । उक्त सहमति पूरा नभएपछि किसान पुनː आन्दोलित भएका हुन् ।
प्रतिनिधिसभाका सांसदहरूले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै आएका छन् ।
Visited 1 times, 1 visit(s) today


