११ हजारले लिए कोरोना बीमा भुक्तानी, एक अर्ब बढी भुक्तानी |
काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ ।
सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । आज मंगलबारमात्रै पनि १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा छन् ।
उनका अनुसार पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा छन् ।
यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इडीसीडीमा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । इडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।
मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको फाइल कागजातहरु पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका छन् । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेश लगायतका समस्याहरु देखिएका छन् ।


